काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ जस्ताको तस्तै राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ।
जनार्दन शर्मा नेतृत्वको *प्रगतिशील राष्ट्रिय अभियान* का प्रतिनिधि तथा सहिद सन्तान सन्दीप पुनसहितको टोली शुक्रबार आयोग पुगेर निवेदन दर्ता गरेको हो। अभियानका नेता रजमान तामाङका अनुसार पार्टीले महाधिवेशनको मिति घोषणा गरिसकेको अवस्थामा अहिले पार्टी संरचनाले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने स्पष्ट उल्लेख गर्दै पहिचान फ्रिज नगर्न आग्रह गरिएको छ।
निवेदनमा अहिलेको कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र रहेको र यो कामचलाउ प्रकृतिको भएकाले पार्टी विलय, चुनाव चिन्ह परिवर्तन वा ‘माओवाद’ परित्याग गर्न नपाउने उल्लेख गरिएको छ।
तामाङले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद तथा घाइतेको योगदानसँग जोडिएको भन्दै यसको संरक्षण आवश्यक रहेको बताए। बाहिरी दबाबमा आधारित निर्णय भए चुनावकै वैधानिकतामाथि प्रश्न उठ्ने उल्लेख गर्दै आयोगलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
निवेदन निर्वाचन आयोगमा दर्ता नम्बर ६५३ मा दर्ता भएको छ।












