काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
कार्यालयका अनुसार पछिल्लो एक महिनामा ६ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । वैशाख मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ९३ अर्ब ८६ करोड ३ लाख रुपैयाँ रहेको थियो । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो। चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो।
जेठ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण मध्ये ५०.३२ प्रतिशत बाह्य तथा ४९.६८ प्रतिशत आन्तरिक ऋण लिएको छ । जस अनुसार जेठ मसान्तसम्ममा बाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड तथा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड रहेको छ ।
सरकारले हालसम्म लिएको वैदेशिक ऋणमा बहुपक्षिय ऋणको हिस्सा ४४.६२ प्रतिशत तथा द्धिपक्षीय ऋणको हिस्सा ५.७० प्रतिशत रहेको छ ।
त्यस्तै हालसम्म लिएको आन्तरिक ऋणमा सबैभन्दा ठूलो हिस्सा विकास ऋणपत्रको रहेको छ । विकास ऋणपत्र मार्फत ३१.८७ प्रतिशत ऋण उठाएको छ । त्यस्तै ट्रेजरी बिल्स मार्फत १७.१९ प्रतिशत, नागरिक बचतपत्र मार्फत ०.४५ प्रतिशत, आइएमएफ बोन्ड मार्फत ०.१६ प्रतिशत तथा वैदेशिक रोजगार बचतपत्र मार्फत ०.०१ प्रतिशत आन्तरिक ऋण लिएको छ ।
त्यस्तै आन्तरिक ऋणतर्फ विकास ऋणपत्रको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ। हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व तीन अर्ब ९१ करोड बराबर छ।