काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्। भेटमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र आयुक्त सगुन शमशेर जबरा उपस्थित थिए। उनीहरूले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीबारे छलफल गरेका छन्।
छलफलमा निर्वाचन आयोगको तयारी, राजनीतिक दलहरूसँगको समन्वय, दल दर्ता प्रक्रिया, मतदाता नामावली संकलन र अन्य निर्वाचन सम्बन्धी प्रक्रिया विषयमा प्रधानमन्त्री कार्कीले विशेष चासो देखाएकी छिन्।
यसअघि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएपछि प्रधानमन्त्री कार्कीले भिडिओ सन्देश जारी गर्दै मतदाता नामावली संकलनलाई सहज बनाउने निर्देशन दिएकी थिइन्।
हाल आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनमा ४ दिनमात्र बाँकी रहेको छ। राजनीतिक दलहरू सशंकित रहेको अवस्थामा प्रधानमन्त्री कार्कीको आयोगसँगको भेटलाई महत्त्वपूर्ण पहलको रूपमा हेरिएको छ।












