काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिले हालै भएको जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेदेखि देखिएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै अनाहकमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना र पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ ।
भदौ २४ गतेको देशव्यापी प्रदर्शनका क्रममा संघीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालयलगायत सरकारी तथा निजी भवनमा आगजनी र तोडफोड भएको घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘सार्वजनिक सम्पतिको विनाशले मुलुकलाई दशकौं पछाडि धकेल्ने अवस्था आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष टुकाभद्र हमालद्वारा जारी विज्ञप्तिमा कैदीबन्दीहरु जेल तोडेर निस्कनु, मानिसलाई जिउँदै जलाउनु, नेताहरुको निजी सम्पत्ति निशानामा पारिनु जस्ता घटनाप्रति संघले दुःख प्रकट गर्दै सुरक्षा निकायको भूमिकामाथि पनि गम्भीर समीक्षा आवश्यक रहेको जनाइएको छ ।
प्रधानमन्त्रीको राजीनामापछि संविधानसम्मत र लोकतान्त्रिक तरिकाले मात्र राजनीतिक निकास खोजिनुपर्ने संघको भनाइ छ । सुशासन, नातावादको अन्त्य, रोजगारी सिर्जना र तीव्र विकास जस्ता मुद्दामा युवापुस्ताको चासोलाई सम्बोधन गर्न राष्ट्रपतिले पहल लिनुपर्ने आग्रह समेत संघले गरेको छ ।
संघले लोकतान्त्रिक शक्तिहरुबीच पारस्परिक संवाद र सहमति आवश्यक रहेको बताउँदै देशभर भइरहेका लुटपाट र अपराध रोक्न सुरक्षाकर्मीलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ । साथै, ध्वस्त सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ, सामाजिक सद्भाव कायम गर्न र पीडितलाई सहयोग गर्न आफ्ना संरचनालाई सक्रिय बन्न आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शहीदको बलिदानले प्राप्त गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिनुपर्छ । लोकतान्त्रिक शक्तिहरु विचलित नभई दृढ र एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’












